मेरो देश
डा. लेखनाथ काफ्ले
ताइपेइ, ताइवान
ढुङ्गा, माटो, रुख-बिरुवा
किटपतंग, जनावर र मान्छेहरु
अरुहरुको जस्तै
एउटा चौघेरा, एउटा सीमाना
गलेको, भत्केको साँध, मनको पर्खाल।
अराजक, बहुरंगी
घात-प्रतिघातका अनुभबी र पूर्ण प्रशिक्षित कलाकारहरु
चैते आधुनिक छेपाराहरु
थाकेका नदी र च्याँपिएको आकास
सपना बिहिन आँखाहरु
उदासी र निरास मुहारहरु
टुंगो न भा‘का यात्राहरु
बेवारीसे बिरामी जस्तै
सुतेको एउटा भुगोल
मेरो देश, मेरो स्वदेश।
देशबाशीहरु
डार्विनका पुराना बाँदरहरु
भुत्ल्याउदै छन प्रकृतिका जगल्टाहरु
आदीम काल देखी निरन्तर
के यो नरिवल नै हो र?
लुटनु, फुट्नु र टुट्नु
आफु आफु मै छुट्टीनु
त्यस्तै गरेर बाँच्नेहरुको देश
मेरो देश।
मान्छेको त के कुरा
बाँदर पनि त्यहाँका
सबै समाती रहन्छन दरो सँग अर्काको पुच्छर
ताकी, अर्को माथि न पुगोस
त्यही कंक्रिटको जंगल
पुच्छर झरेका देशबाशीहरु बस्ने देश
मेरो देश।
नागरिक
हिउँका थुप्राहरुलाई भजाएर जीबिका चलाऊथ्यो
गौतम बुद्धको जन्म थलो देखाएर छाक जुटाउथ्यो
हिजो आज ऊ
आफ्नै जन्म थलो बेचेर
अंग्रेजी सिकी रहेको छ
उसलाई परदेशीने चिट्ठा परेको छ
चिट्ठामा बाँचेकाहरुको एउटा देश
मेरो देश।
कबी, कलाकार
सतहमा, आफैसँग झुठ बोलेर आत्मरती गर्दछ
सुन्दर, शान्त र बिशालको ध्वाँसे गीत गाउँछ
गहिराइमा, दलाल धाउछ
हरियो पासपोर्ट बनाउछ
वा रातो पासपोर्ट किन्छ
सके सम्म छिटो देशबाट भाग्न
अस्तब्यस्त, भगौडाहरुको एउटा देश
मेरो देश।
प्रबासिदो मजदुर
खुशी खुशी करारनामा गर्दछ
मरुभुमिमा तातेर मर्न
नर्थ पोलमा जमेर मर्न
अग्ला भवनबाट खसेर मर्न
गहिरा समुद्रमा डुबेर मर्न
मेशिनमा पेलिएर मर्न
सुरुङमा निसास्सिएर मर्न
अरु केही गरेर मर्न न सके
आत्महत्या गरेर मर्न
२१ औं शताब्दिका कमारा कमारीहरु जन्माउने देश
मेरो देश।
नेता, कर्मचारी
डराइ डराइ साँचो बोल्नु पर्दा
तिनीहरु घृणा योग्य छन
जो कामले देशबाट आफ्ना नागरिकलाई सीमाना कटाउछन
तर भाषणमा
रित्तो स्वाभिमानको भजन गाँउछन
खोक्रो राष्ट्रियताको ढोङ रच्छन
उज्यालोमा आडम्बरी संस्कृतिको माला लगाउछन
अध्याँरोमा शक्ती केन्द्र धाउछन
जनताको टाउकोमा टेक्छन
पदको लागि प्रभुको पाउ पर्छन
अनी हुंकार गर्छन
क्रान्तिकारी बन्छन
यो सुकिला सुट, बख्खु, टोपी र धोतीहरुको स्वर्ग
र आम मान्छेहरुको प्राकृतिक नरक देश
मेरो देश।
म
धरोधर्म, खसोखास अवसरबादी हुँ
त्यसो भन्दा मलाई कुनै दुख छैन
तर
एउटा कुराको निकै पश्चाताप छ
म किन यस्तो दरिद्र देशमा जन्मे?
मेरा अभागी बाउ आमाले रगत पसिना बगाएको देश
मेरो देश, मेरो स्वदेश।
म निधारमा पोतिएको त्यो कालो टीका पखाल्न चाहन्छु
त्यो कलंक मेट्न चाहन्छु
तर संघर्ष गर्ने आँट नै छैन
त्यसैले
म भाग्न चाहन्छु यो अध्याँरो भुमिबाट
पुग्न चाहन्छु त्यहाँ
जहाँ नहोस
मेरो देश
र नहुन माकुरा जस्ता मेरा मान्छेहरु।
***
